झापा । नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको बन्द सूचीमा झापाका सरिता प्रसाईँ र उद्धव थापा परेका छन् । सङ्घीय निर्वाचनका लागि ती दुईको नाम समानुपातिक उम्मेदवारको रुपमा बन्द सूचीमा अटाइएको हो ।

 

प्रसाईँ झापा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फको आकाङ्क्षी थिइन् । उनी समानुपातिकमा गएपछि अब पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले टिकट पाउने निश्चित जस्तै भएको छ । कांग्रेस केन्द्रीय सदस्य प्रसाईँ पूर्व कृषि राज्यमन्त्री हुन्। गत निर्वाचनमा उनी प्रदेश १ बाट राष्ट्रियसभा सदस्य विजयी भएकी थिइन्।

 

कांग्रेसका प्रदेश सभापति थापाले यस पटक प्रत्यक्षतर्फ उठ्ने इच्छा गरेनन् । कांग्रेसको २ नं क्षेत्रीय समितिले यस पटक झापा क्षेत्र नं २ मा उनलाई समानुपातिकतर्फ सिफारिस गरेको थियो । अघिल्लो संसदीय निर्वाचनमा थापा २ नं क्षेत्रबाट उम्मेदवार बनेका थिए । त्यस निर्वाचनमा एमालेकी पवित्रा निरौला खरेल निर्वाचित भएकी थिइन् ।

 

विजयी निरौलाले ४५ हजार ८ सय १७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थापाले ३२ हजार ५० मत प्राप्त गरेका थिए ।