दमक । झापा र इलामको सीमा नजिक भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट एक भुटानी शरणार्थी युवाको मृत्यु भएको छ । खुकुरी प्रहारबाट दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बसोबास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ वर्षीय लालबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

झापा र इलामको सीमा नजिक पर्ने रतुवा खोलाको पुलमा बुधबार अपराह्न साढे ४ बजे गुरुङमाथि खुकुरी प्रहार गरिएको थियो । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो ।

 

त्यसपछि घटनास्थल पुगेका प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

प्रहरी स्रोतका अनुसार गुरुङ चुलाचुली क्षेत्रका युवाहरूसँग ग्याङ फाइट (सामुहिक झगडा) गर्न त्यसतर्फ गएका थिए । झगडा गर्ने क्रममा चुलाचुलीका एक दर्जनभन्दा बढी युवाहरूले उनलाई घेरेर खुकुरी प्रहारसँगै आक्रमण गरेको जनाइएको छ ।

 

यसअघि गुरुङ विभिन्न अपराधको घटनामा संलग्न भई पटक पटक जेल सजाय भोगिसकेका व्यक्ति हुन् । केही समयअघि मात्र उनी जेलबाट छुटेर आएर शरणार्थी शिविरमा बस्दै आएका थिए ।