इलाम । झापाको दमक नगरपालिका ३ बेलडाँगीका ४४ वर्षीय एलबी भन्ने लालबहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका ५ पकुवामा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार बेलुका ५ बजे १०र१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार र ढुंगा प्रहार गरी शरीरको विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाई उनीहरु भागेका थिए । घाइते अवस्थाका गुरुङको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना सम्वन्धमा तत्काल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक दिलिप घिमिरेको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले घटनामा संलग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा आरोपीहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार चुलाचुली ४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेशकुमार याखा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्रकुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय बिक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई समेत ९ जनालाई विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले उनीहरुलाई घटनामा प्रयोग भएको दापसहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को १९ प ३७२५ नम्वरको मोटरसाइकलको दुबै चक्काको टायर काटी फालेको अवस्थामा बरामद गरेको पनि जनाइएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घट्ना भएको तीन दिनअघि मृतक गुरुङले घट्नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घटनाको बदला लिन आरोपीहरुले कुटपिट गरी मार्नेसम्मको योजना बनाएको खुल्न आएको छ भने घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।