लिलक सिटौला,
बिहान कलेजको एक कक्षा पढेर म इलामको जेलतर्फ अघि बढेँ । मेरा धेरै साथीहरु थिए, अहिले पनि छन् । तर, त्यो बेला मलगायत रमेश डिसी, दुर्गा खरेल र दावा लामामात्र टंक दाइलाई भेट्न गएका थियौँ । भेटपछि नमिठो लाग्यो । टंक दाइको घरमा लोक सेवा आयोगको सरकारी कार्यालय थियो । त्यो घरमा मैले धेरै दिन बिताएको थिएँ । दाइलाई भेट्दा मलाई र साथीहरुलाई नमिठो लाग्यो । कपाल पनि सिँगारिनु भएको थियो । हामीलाई अलि अलिमात्र चिन्नु हुन्थ्यो । मलाई के छ ? लिलक भन्नुभो । अरु साथहिरुलाई चिन्नु नै भएन ।

 

मलाई लाग्छ त्यो बेलाको व्यवस्थाले दाइलाई करेन्ट लगाएको हुनुपर्छ भन्ने अनुमान गरेँ । त्यहाँ मैले चिनेको एक जना प्रहरी हुनुहुन्थ्यो । नाम मोति पुलिस भन्थे । उसलाई मैले सोधेँ, यो के भएको मोति जी भन्दा वहाँले भन्नु भो, साह्रो विजोग छ, टंक दाइलाई रातभर घोचघाच र कुटपिट साथै बिजुलीबाट ‘सक’ गराइन्छ… भनेपछि हामी निरास मुडमा फर्केका थियौँ ।

 

बजार आएर वेदप्रकाश शर्माकोमा खालि चिया खाएर फर्केका थियौँ । वेदप्रकाशले जेरी (जुलबी) र मालपुवा पनि खाओ भने पनि चियामात्र खाएर आआफ्नो बासस्थातर्फ लाग्यौँ ।

 

२०३९ सालतिको कुरा होला । सान दाजुको साउन ६ गते काठमाडौँमा निधन भएको खबर थाहा पायौँ । अब के गर्ने ? काठमाडौँ वीपी कोइरालाको मलामी जाने सोच हुँदाहुँदै आर्थिक र यातायातको कारणबाट हामी बञ्चित रहेको आजै जस्तो लाग्छ ।

 

हामीले थाहा पायौँ, काठमाडौँमा २० हजार मलामीको भेलाले आदरणीय महामानव वीपीको शवयात्रामा सामेल भएर सम्मान प्रकट गरेको कुराबाट हामी केही विद्यार्थीहरुले इलाम चोकमा केवी गुरुङ, तोयानाथ भट्टराईहरुको उपस्थितिमा वीपीको दाहसंस्कार गरेको खरानी पवित्र माइ नदीमा लगेर सेलाउने कार्यक्रम रहेको हुँदा टंक दाइ, म राजन शर्मा (तिल्कुने), दिपेन्द्र, रमेश, दुर्गा, भक्तराज साथै निर्मल दाहाल, कालिडा, कृष्ण दाइहरुबाट सहयोग हुँदा इलाम बजार चोकमा माइक बजाएर कार्यक्रमको घोषण गरेका थियौँ ।

 

त्यसबेला प्रहरी, प्रशासनले हामीलाई केही गरेन, सरकारको निर्देशन त्यस्तै थियो होला । टंक दाइ र मलगायत केही साथीहरुले त्यो बेला राष्ट्रका महान हस्तीको सम्झनामा केश मुण्डन गरेको पनि हिजोजस्तो लाग्छ । त्यसबेला आदरणीय बेनुप दाइ नगर प्रमुख हुनुहुन्थ्यो । वहाँले पनि हामीलाई सहयोग गर्नु भएको थियो । त्यस कार्यक्रममा प्रिय साथी एकराज आङदेम्वेको पनि ठुलो साथ थियो । त्यस्तै, धर्म गौतम पनि हामीसँगै हुनुहुन्थ्यो । वहाँलाई खै कुन कांग्रेसले बेनुप दाइको मान्छे भन्न थालेको हल्ला पनि हामीले सुनेका थियौँ ।

 

विद्यार्थी जीवनमा साँचो कुरा भन्दा पनि नेताहरुले जे भने पनि विश्वास मान्ने बाध्यता त्यसबेला थियो । तर, मेरो भोगाईमा बेनुप प्रसाई र धर्म गौतम नै कांग्रेसका हस्ती थिए । वहाँहरुको मनमा जेजस्तो भए पनि म कांग्रेसभित्रका मानिसहरुको दृष्टिकोणबाट अनुभव गरेको थिएँ । यस्ता धेरै मान्छेहरु पलायन भएका थिए, त्यो बेला पनि । पर्शुनारायण चौधरी कांग्रेसका महामन्त्री थिए । पञ्चायततर्फ लागेका थिए । अरुलाई दोष दिनु बेकार थियो । र, छ पनि ।

 

मेरो यो लेखमा बढी गन गनजस्तो लाग्यो होला तर साउन १५ अर्थात १६ गते हामीले ट्रक पाएका थियौँ । त्यो बेला प्रतिबन्धित अवस्थामा इलाम जिल्लाभरिका कांग्रेस नेता, समर्थक र हामी टंक दाइको नेतृत्वमा इलाम बजारबाट तल माइखोलातर्फ लाग्यौँ, वीपी कोइरालाको समधि गरेको खरानी लिएर । टंक बस्नेत त्यो बेलामा पक्राउ पर्नु भएको थिएन, पक्राउ त पछि पर्नु भएको थियो ।

 

मेरो कुरो टंक दाइ हुँदा सबै नेतृत्व वहाँबाट हुन्थ्यो । अहिले एउटा प्रजातान्त्रिक योद्धालार्य पञ्चायती क्रुर तानाशाही व्यवस्थाले जेलमा हालेर सजाय दिइराखेको छ त्यो बेलामा मानवअधिकारकर्मीहरुको आवाज अलिक कम सुनिने गर्दथ्यो । प्रशासनले कसैको कुरो सुन्दैनथ्यो ।