बिर्तामोड । झापाको बिर्तामोडस्थित वान स्टप मलमा आगलागी भइरहेको छ । आगलगाी भएको वान स्टप मलमा बिर्तामोड नगरपालिकाको दमकल पुगिसकेको छ ।

 

अहिले नेपाली चलचित्र बाबरीको शो चलिरहेको थियो । सूचनाअनुसार बाबरी चलचित्र युनिट वान स्टप मलमा उपस्थित भइसकेको थियो । तत्काल मलको कुन पसलबाट आगलागी भएको भन्ने यकिन हुन सकेको थिएन ।

 

दसैँको रमझमको बेला त्यहाँ रहेका पसल प्रायः जसो बन्द अवस्थामा थिए । स्थानीय मुकुन्द उप्रेती पनि चलचित्र बाबरी हेर्न त्यही मलमा उपस्थित थिए । उनैले घटनाको जानकारी दिने उद्देश्यले फेसबुकमार्फत लाइभ गरेका थिए ।

 

आगलागीको घटनापछि सुरक्षाकर्मी उपस्थित भएका थिए । सुरक्षाकर्मीले सम्भावित पसलको सटर र त्यसमा लगाइएका ताला तोडेका थिए ।

 

आगलागी करिब ८ बजेतिर सुरु भएको थियो । त्यस बखत नेपाली चलचित्र बाबरीका नायक, नायिकासहितको टोली उपस्थित थिए । सोही मलमा क्यूएफएक्स सिनेमा घर रहेको छ । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

 

प्रारम्भिक जानकारीअनुसार वान स्टप मलमा रहेको रिद्दी सिद्दी कलेक्सन (पसल)बाट आगो उठेको जनाइएको छ । घटना विद्युत् सर्ट भएर हुनसक्ने अनुमान गरिएको छ ।

 

बिर्तामोड ५ जात्रुबारी बस्ने सूर्य अधिकारीले सो मलमा संचालन गरेको कपडा पसलमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।

 

आगलागी नियन्त्रणका लागि बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकल, स्थानीयवासी, प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । उनले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।