झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हिजो साँझ झापाको शिवसताक्षी नगरपालिकामा यात्रुबाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख २३२१ नम्बरको यात्रुबाहक बसले साँझ ६ बजे शिवसताक्षी ९ स्थित मिलन चोकमा ठक्कर दिएको थियो। दुर्घटनामा परी दमक ५ बस्ने २५ वर्षीय निर्मल दासको मृत्यु भएको हो ।

 

मोटरसाइकलको पछाडि सवार १८ वर्षीय सौरभ मदक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा संलग्न ध्रुवतारा यातायातको उक्त बस र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।