पाँचथर । द्विदेशीय सीमा निगरानी र सीमास्तम्भको पहरेदारी गर्न नेपाल–भारत पूर्वी सीमावर्ती बिन्दुमा दुई वर्षअघि स्थापित ३ वटा बोर्डर आउटपोस्ट (बीओपी)मध्ये एक हो, चिवाभन्ज्याङ बीओपी । यसबाहेक पाँचथरकै तोरीफुले, फालोट र सुर्केथाम (भैंसे) मा अरू तीन सशस्त्र बीओपी रहेका छन् ।

 

चिवाभन्ज्याङ बीओपीले तिम्बुपोखरी, घुम्ने, सुर्के, पहाडी मेगु, घोप्टे, देउराली, डुँड, सुर्केधाप, निगालेथाम, गैरी, भुसपति, फलेके, लामीडााडा, बज्रडाँडा, बलेडाँडा, मेजर डाँडा, पहाडेभन्ज्याङ, पानीभित्ता, फोक्टेडाँडा, सिंहलिला आदि सीमास्तम्भ रहेका २० भन्दा बढी बिन्दुको निगरानी गर्दै आएको छ ।

 

‘दूरीका हिसाबमा झन्डै २४ किलोमिटर क्षेत्र यो बीओपीले निगरानी गर्छ,’ चिवाभन्ज्याङ बीओपीका बाहिनीपति सशस्त्र नायब निरीक्षक गंगाप्रसाद पाण्डे भन्छन्, ‘हामी १६ जना सशस्त्र प्रहरीको टोली यहाँ खटिएका छौं ।’ चिवाभन्ज्याङ जहाँबाट मध्यपहाडी राजमार्गको सुरुवात हुन्छ, यो बिन्दुमा न गाडी कुद्ने स्तरको राजमार्ग पुगेको छ, न बिजुली वा न टेलिफोन नै पुगेको छ । ३२ सय मिटरभन्दा माथिको यो उचाइमा कात्तिकदेखि सुरु भएको हिउँदयाम चैत, वैशाखसम्मै रहन्छ ।

 

‘यो भेगमा रहेका सीमावर्ती स्तम्भहरूमा त्यस्तो समस्या देखिन्न, एक, दुई स्तम्भ भने पहिरोले पुरिएर वा भौगोलिक कठिनाइमाझ संकेत, चिह्न मात्रै देखिन्छ,’ बाहिनीपति पाण्डेले भने । चिवाभन्ज्याङ सशस्त्र बीओपीले २४ किलोमिटर सीमावर्ती क्षेत्रको निगरानी गरिरहेका बेला भारतीय सीमा सुरक्षातर्फ भने एक गुल्मले ४, ५ किलोमिटर क्षेत्र मात्रै निरीक्षण गर्दै आएको छ ।

 

सीमावर्ती बिन्दुमा भने भारतीय प्रहरीको सीमा सुरक्षा बल र सिक्किम प्रहरीको टोलीसमेत सीमा सुरक्षामा बसेको छ । भर्खरै राखिएको नेपाली पक्षको बीओपीले आफ्नै सीमास्तम्भ अनुगमनमा पनि भारतीय भूमिको सीमामार्ग (पैदल) भएर हिँड्नुपर्ने अवस्था रहिआएको छ । जिल्ला सदरमुकाम फिदिमबाट गाडी तथा पैदलमा २ दिनको बाटो पार गरेर मात्रै पुगिने चिवाभन्ज्याङमा खटिएका सीमा सुरक्षा प्रहरीलाई सुगमसरह सेवासुविधा र रासनपानी दिइँदै आएको कठिनाइबारे भने प्रहरी स्वयं भने केही बोल्न चाहँदैनन् ।

 

माथि चिवाबाट रासन लिनकै लागि फिदिम जाने वा अरु कागजी प्रक्रियामा ओहोरदोहोर गरिरहने सशस्त्रका सिपाहीको हैरानी त्यत्तिकै बोध गर्न सकिन्छ । चिवाबाट ६ घण्टा पैदल तल्लो बजार च्यांगथापुस्थित विष्णु माविका शिक्षक त्रिलोचन अधिकारीका बुझाइमा, बीओपी दस्तालाई दुर्गम भत्ता वा खानपिनको सुविधामा केही सहजीकरण भइदिए पनि यो सीमावर्ती बिन्दुमा अहोरात्र खटिएका सुरक्षाकर्मीको मनोबल बढ्ने थियो । इकान्तिपुरबाट