प्रतिकात्मक तस्वीर
झापा । मोरङको बेलबारी नगरपालिका १ ढुकुरो चोकमा गएराति आगलागी हुँदा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति पौने २ बजे डबलबहादुर खाण ठकुरीको तीन तले पक्की घरमा आगलागी भएको हो ।
आगलागीमा परेर उनका ३० वर्षका छोरा भुषण ठकुरी र २८ वर्षकी बुहारी नमिता ठकुरी घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आगलागीमा झन्डै चार करोड रुपैयाँ बराबरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरका सबै सामग्री जलेर नष्ट भएको छ । घरको सटरमा हार्डवेयर पसल रहेको र पसलमा रहेको नगद चार लाख रुपैयाँसहित सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै, घरमा रहेको एउटा मोटरसाइकल पनि जलेको छ।
आगो निभाउन विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, इटहरी उपमहानगरपालिकालगायतका पालिकाबाट दमकल गएको थियो । ८, ९ वटा दमकल, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा राति साढे ३ बजेतिर आगो निभाइएको बेलबारी नगरपालिका १ का वडा अध्यक्ष मणिबहादुर पुलामी मगरले जानकारी दिए । उनका अनुसार विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।