लिलक सिटाैला,

पार्टी संगठन र जुनै पनि संस्थामा राम्रा मान्छेको हातमा गयो अर्थात् पर्यो भने त्यो संगठन र समाज त्यसै विकसित हुन्छजस्तो मलाई लागेको थियो । र, हो पनि । हाम्रो आन्दोलनमा हिँड्ने साथीहरु, बाहिरबाट सहयोग गर्ने दाजुदिदीहरुको नाम पहिले नै लेखिसकेको छु । यस पेजमा म लेख्ने छुइँन । हामी पढ्ने भन्दा पनि त्यस बेलाको पञ्चायती व्यवस्थाका विरोधी विद्यार्थी भएका कारण हाम्रो ठुलो इज्जत थियो ।

 

म अलिक भावुक पनि हो, म कहिलेकाहीँ सम्झिन्छु, हामी मानसिहरु हुनुमा म आफैँ गर्व गर्दछु । किन भने मानिस बोलमुखी प्राणी हो । मान्छे बोल्छ, उ संसारभरि घुम्न सक्छ । तर, संसार घुम्ने चराहरु पनि छन्, मानिसलाई संसारभरि घुम्ने आधार हुन्छ । उ सुरक्षित हुन्छ । तर, पशुपंक्षी हुँदैन, संसारभरिका चराहरु आफ्नो अनुकूलअनुसार देशविदेशमा घुम्न आउँछन् साइबेरियाबाट होस् वा जुनसुकै देशबाट आएका चराहरुलाई मान्छेले पासोमा पार्ने चलन त छँदैछ । त्यसको मतलब म प्रणामीरहित । जय होस्, जनवारहरुको पनि ।

 

हामी विद्यार्थीहरुलाई फुटाउने तत्कालिन व्यवस्थाले बनाएको रहेछ । हामी सबैले थाहा पाएका थियौँ । फुट्ने र फुटाउने अनि नफुट्नेले पनि थाहा पाएका थिए । तर, कुन संगठनको व्यवहार कहाँ धरातलमा पुगेको थियो । साथीहरुले थाहा पाएको जस्तो मलाई लागेन ।

 

अब महेन्द्ररत्न क्याम्पसमा हामीबीचको भिडन्त अनिवार्य भएको हामीले महसुस गरेका थियौँ । यो भिडन्त हुन्छ भन्ने कुराहरु मभन्दा पनि भित्र बाहिरका अभिभावक र साथीहरुले थाहा पाएका थिए । तर, पनि म बारुले संगठनको अध्यक्ष भएको नाताले यो स्वागत कार्यक्रम मेरो अनि सबै साथीहरुको पहलमा गर्नु नै थियो । तयाँ विद्यार्थीको स्वागत गर्न पाउने अधिकार सबै विद्यार्थीलाई थियो । सबै कुराहरु सूचनाको आधारमा बुझेर सुकेको खुर्सानी पिस्ने निर्णय भयो ।

 

हामीविरुद्धका विद्यार्थीलाई धुलो खुर्सानी अनुहारमा फ्याँक्ने हाम्रो उद्देश्य थियो । यस उद्देश्यमा सुकेको खुर्सानी पिस्ने साथीहरुको भूमिका महत्वपूर्ण रह्यो । अब भोलि के हुन्छ भन्ने मलाई ठुलो चिन्ता थियो । भोलि घटना हुन्छ भन्ने कुरामा कुनै शंका नै थिएन । ठुलो सानो जे भए पनि घटना हुन्छ जस्तो लागेको थियो । त्यो पञ्चायतको विरोधमा हामी हिँडेको अवस्थामा सबै विद्यार्थी संगठन फुटाएर पञ्चायतले गरेको तमासा देखेर मलाई दिक्क लाग्यो । पार्टी कसले चलाउँछ, विद्यार्थीहरुलाई हतियार कसले बनाउँदो रहेछ भन्ने कुराको टुंगो हुँदैन रहेछ । जे होस्, भिडन्त नै अन्तिम निर्णय थियो । त्यो हुनुपर्छ भन्ने पक्षमा म र मेरा साथीहरुको सहमति भएअनुसार काममा लाग्ने निर्णय गरियो ।

 

मैले माथि चराहरुको चर्चा गरेँ । हामी पनि झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा र तेह्रथुमलगायतका स्थानबाट पढ्न आएका चराजस्तै विद्यार्थीहरु थियौँ । हाम्रो भिडन्तमा मज्जा लिएर बसेका शासकहरुले भिडन्त भो, मारियो पनि भन्न सक्छन् भन्ने डर दुवैथरिका संगठनलाई थाहा हुँदाहुँदै पनि हामी भिड्ने मनस्थितिमा पुगेका थियौँ यो रहर नभएर बाध्यता सरह नै भएको थियो । त्यो अवस्थामा पनि हामी नेविसंघका विद्यार्थी साथीहरुले इलाम क्याम्पसमा कार्यक्रम राखेका थियौँ ।

 

इलाम जिल्लाको हावापानी अति रमाइलो थियो । जेहोस्, हामीले नै स्वागत गर्ने कार्यक्रम राखियो । स्वागत भाषण राजेन्द्र शर्माले गरेको मात्र के थियो अखिलका साथीहरुले आक्रमण सुरु गरे । नयाँ विद्यार्थी साथीहरु भागाभाग, हामी कौरव र पाण्डवजस्तै भएर लडेका थियौँ । हाम्रा विद्यार्थी चेलीबेटीहरुले खुर्सानीका धुलो आँखा र मुखमा हालेपछि हाम्रो आँट बढेको थियो । हानाहान, डाङडाङ, डुङडुङ बाल्टीले भेटे बाल्टीले, दाउराले भेटे दाउराले हान्ने क्रम चलिरह्यो । इलाम क्याम्पसमा पढाउने शिक्षकहरुले पनि धुलाइ खाएका थिए ।

 

कुटाकुट बराबरभन्दा पनि खुर्सानीले हामीलाई जिताएको कुरा थाहा भो । शाही नेपाली सेनाले कलेज घेरेको थियो । हामी आआफ्नो हिसाबले क्याम्पस छाडेर भागेका थियौँ । हामी धेरैजसो बारा बस्तीतिर लगोका थियौँ । घाइते हुने साथीहरुलाई इलाम हस्पिटलमा भर्ना गरिएको थियो । नेविसंघ र अखिलका साथीहरुको भिडन्तमा मेरा भावनासँग मिल्ने साथी अर्थात् दाइ लोकबन्धु कन्दङ्वा पनि हस्पिटलमा भर्ना भएको खबर आयो । क्रमशः