भद्रपुर । भद्रपुर १० चन्द्रगढीस्थित वीपी टोलमा घरमै राखिएको अवस्थामा दुई वटा मोटरसाइकलमा नचिनेको समूहले आगजनी गरी क्षति पुर्याएको छ । सिर्जनशील सरस्वती मार्गमा रहेको राधाकृष्ण अधिकारीको घरमा राखिएका दुई वटा मोटरसाइकलमा सोमबार राति नचिनेको समूहले आगजनी गरी क्षति पुर्याएको हो ।

 

पीडित अधिकारीका अनुसार राति ९ः३० बजेतिर एक्कासी त्रिपालले छोपेर राखेको मोटरसाइकलमा आगो बलेको देखेको र मोटरसाइकलको पछाडिको भाग जलिरहेको अवस्थामा आगो नियन्त्रणमा लिँदा थप क्षति हुन पाएन ।

 

आगलागीबाट प्र. १-०१-१२ प ५२३९ को पल्सर मोटरसाइकलमा पछाडिपट्टि पूर्ण क्षति भएको छ भने मे. ७ प ९६९७ मा पनि क्षति पुगेको छ ।

 

अधिकारीका अनुसार घर अगाडि पूर्ण रूपमा गेट बन्द रहेका कारण पछाडिबाट मोटरसाइकल चोर्न पसेका व्यक्तिले गेट फुटाउन नसकेपछि त्रिपालले छोपेका मोटरसाइकलमा आगो लगाएर भागेको हुनसक्ने अनुमान छ । प्रहरीले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।