झापा (एजेन्सी) । उपाधि दाबेदार अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।

 

लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । साउदीले अर्जेन्टिनाविरुद्ध निकालेको यो पहिलो जित हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

 

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो । खेलको २८औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरे पनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए।

 

तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ४९औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५३औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ को जित दिलाए ।

 

 

यस जितसँगै समूह ‘सी’ को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ । साउदी समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना पुछारमा रहेको छ । यस हारसँगै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा समेत टुंगिएको छ ।