पाँचथर । पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो (मौसम) विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै आङ्बो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट विजयी भएका हुन् ।

 

आङ्बोलाई १५ हजार ६ सय ७२ मत प्राप्त भएको छ । उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाएका छन् । पाँचथरको फिदिम नगरपालिका ११ घर भएका ४० वर्षीय आङ्बो २०७४ सालको आम निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका आङ्बो एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री पनि हुन् । उनी यसपटक माओवादी केन्द्र, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रका तर्फबाट साझा उम्मेदवार थिए ।

 

एमालेका नेम्वाङ नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । उनी २०७० सालमा नेकपा मालेका तर्फबाट संविधानसभा सदस्यमा पनि निर्वाचित भएका थिए । आइतबार भएको मतदानमा उक्त क्षेत्रमा ३४ हजार ७ सय १५ मत खसेको थियो ।