दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि सांसदहरुको किनबेच हुने बताएका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि बिहीबार दमक आएर मतदातालाई धन्यवाद दिने क्रममा ओलीले निर्वाचन परिणामले सुरुवातदेखि नै दल तथा सांसदहरुको मोलमोलाई सुरु हुने दाबी गरेका हुन् ।

 

‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ । मुलुकले एउटा दिशा पाउछ भन्ने आशा थियो । तर, त्यसो भएन,’ उनले भने, ‘अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था छ । फेरि पनि सुरुदेखि नै दलहरुको मोलतोल र सांसदहरुको भाउ कसेर किनबेच चल्ने भयो ।’

 

उनले मुलुकमा थप अस्थिरता पैदा हुने पनि बताएका छन् । निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिए पनि त्यसो हुन नसकेको उनको टिप्पणी छ ।

 

दलहरुले मतदाताको भावना र चाहनालाई सम्बोधन गर्न नसक्दा केही दल तथा सांसद भाग्यवस संसद्को यात्रा तय गर्न सफल भएको उनले टिप्पणी गरे । ओलीले अब बन्ने सरकारले फेरि पनि मुलुक र जनताको लागि काम गर्न नसक्ने दाबी गरे ।

 

‘अब बन्ने सरकारले फेरि पनि जनता र मुलुक विकासको काम गर्न नसक्ने भयो । बहुमतको सरकार नबन्ने भएपछि दलहरु आफ्नो सरकार जोगाउन सांसदको मोलतोल, लेनदेन र भागबन्डामै लाग्दा ठीक्क हुन्छ,’ उनले भने । उनले अब सरकार बनाउन र जोगाउन योग्यताभन्दा पनि टाउका हेरेर मोलतोल गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।