झापा (एजेन्सी) । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले पहिलो जित निकालेको छ । अल थुमामा स्टेडियममा शुक्रबार भएको खेलमा कतारलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो जित निकालेको हो । सेनेगलको जितसँगै कतार समूह चरणबाट बाहिरिने सम्भावना बनेको छ ।

 

सेनेगल जारी विश्वकपमा जित निकाल्ने पहिलो अफ्रिकन राष्ट्र हो । खेलको ४१औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४८औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २-० को अग्रता दिलाए ।

 

खेलको ७८ औं मिनेटमा मुहमद मुन्तारीले गोल गर्दै कतारलाई २-१ को स्थितिमा ल्याए । मुन्तारीको गोल विश्वकपमा कतारको यो पहिलो ऐतिहासिक गोल हो ।

 

त्यसपछि खेलको ८४ औं मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए । जितसँगै समूह ए’ को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ । सेनेगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

 

कतारको यो लगातार दोस्रो हार हो । कतार अंक विहीन रहदै पुछारमा रहेको छ । कतार प्रतियोगिताको समूह चरणबाट बाहिरिने संघारमा रहेको छ । शुक्रबार हुने खेलमा इक्वेडरविरुद्ध नेदरल्यान्ड्सले हार नव्यहोरेमा कतार प्रतियोगिताबाट बाहिरिने छ ।