झापा (एजेन्सी) । कतारमा जारी फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । अल बायत स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण दुबै टोली अंक बाड्न बाध्य बने । अमेरिकाविरुद्ध बल पोसेसनमा पकड जमाए पनि इंग्ल्यान्डले गोल निकाल्न सकेन ।

 

यता, इंग्ल्यान्डविरुद्ध अमेरिकालाई भाग्यले साथ दिएन । पहिलो हाफमै अमेरिकाका क्रिस्टियन पुलिसिचको प्रहार पोस्ट बारमा लाग्दै बाहिरिएको थियो। यस बराबरीसँगै इंग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै राखेका छन् ।

 

समूह ‘बी. मा रहेको इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । अमेरिका २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यसअघि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले इरानलाई ६-२ गोल अन्तरले हराएको थियो । पहिलो खेलमा अमेरिकाले वेल्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।

 

यस्तै, कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दै अंक बाँडेका छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

 

 

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले बनाएको थियो । खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, नेदरल्यान्ड्सले दोस्रो हाफमा अग्रता जोगाउन सकेन ।

 

खेलको ४९ औं मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा इक्वेडरका प्लाटा स्टुपिनानले गोल गरेका थिए । तर, भीएआरले अफसाइड गोल देखाएपछि उनको गोलले मान्यता पाएन ।

 

यस बराबरीसँगै समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । इक्वेडर ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २-० ले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २-० ले नै हराएको थियो । यस समूहमा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट कतार भने समूह चरणबाट बाहिरिएको छ । लगातार दुई हार ब्यहोरेको कतारले अंक जोड्न सकेको छैन ।