झापा (एजेन्सी) । केलियन एमबाप्पे चम्किएको खेलमा फ्रान्सले डेनमार्कलाई हराएको छ । शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २-१ ले हराएको हो । लगातार दुई गोलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको छ ।

 

फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे । खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ६१औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए । त्यसको पाँच मिनेटमा डेनमार्कका क्रिस्टेन्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

 

बराबरीतर्फ उन्मुख खेल सकिन चार मिनेट अघि एन्टोनी ग्रिजम्यानको पासमा एमबाप्पले विजयी गोल गरे । समूह डीको खेलमा शीर्ष स्थानको फ्रान्सले ६ अंक जोडेको छ । अष्ट्रेलिया तीन अंक जोडेर दोस्रो स्थानमा छ । डेनमार्क र ट्युनेसिया समान एक अंक सहित क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

 

यस्तै, अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ । शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले हराएको हो । समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो ।

 

खेलको ६४औं मिनेटमा एन्जल डि मारियाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई अघि बढाएका थिए । खेल सकिन तीन मिनेटअघि मेस्सीको पासमा फर्नान्डेजले गोल गर्दै दक्षिण अमेरिकी टिमको जित सुनिश्चित गरे ।

 

जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ । समूह सीमा अर्जेन्टिना तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको साउदीको समेत समान तीन अंक छ । पोल्याण्ड ४ अंकसहित समूहको शीर्ष स्थानमा छ । एक अंकसहित मेक्सिको पुछारमा छ ।