झापा (एजेन्सी) । फिफा विश्वकप फुटबलमा अन्तिम १६ का दुई वटा खेल तय भएका छन् । गएराति समूह ‘ए’ र ‘बी’ को समूह चरणका खेल सकिएसँगै नकआउट चरणको समीकरण बन्न थालेको हो ।

 

समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका छन् । त्यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा पुगे । नेदरल्यान्ड्सले आयोजक कतारलाई २-० ले हराउँदै समूह ‘ए’ को विजेता बन्यो । उसले ३ खेलमा ७ अंक जोडेको छ । यस्तै सेनेगलले इक्वेडरलाई २–१ गोलले हराएर समूह ‘ए’ को उपविजेता बन्यो । सेनेगलको ६ अंक छ ।

 

यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका अन्तिम १६ मा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० गोलले हरायो । इंग्ल्यान्ड ३ खेलमा ७ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो ।

 

यो समूहमा अमेरिका इरानलाई हराउँदै नकआउट चरणमा पुग्न सफल भयो । अमेरिकाको ५ अंक छ । अब अन्तिम-१६ मा नेदरल्यान्ड्सले अमेरिकासँग डिसेम्बर ३ मा तथा इंग्ल्यान्डले सेनेगलसँग डिसेम्बर ५ मा खेल्नेछ ।