झापा (एजेन्सी) । फिफा विश्व कप फुटबलमा मोरक्को, क्रोएसिया, जापान र स्पेन अन्तिम १६ मा पुगेका छन् । आज बिहान भएको खेलमा कोस्टारिकालाई हराए पनि जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ को अन्तिम खेलबाट नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ ।

 

अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरे । जापानले स्पेनलाई २-१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ मा पुग्यो । स्पेन पराजित भए पनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४-२ गोलले हराए पनि अघि बढ्न सकेन ।

 

जापान ६ अङ्कसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो । जर्मनी ४ अङ्क जोडे पनि गोलअन्तरमा स्पेनभन्दा पछि रह्यो । स्पेनको गोल अन्तर ६ तथा जर्मनी १ मा रह्यो । कोस्टारिका ३ अङ्ककासाथ चौथो हुँदै बाहिरियो ।

 

समूहमा पहिलो खेलको नतिजाले समीकरणमा निकै ठूलो भूमिका खेल्यो । जापानले पहिलो खेलमा जर्मनीलाई २-१ ले हराएको थियो । स्पेनले पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले पराजित गरेको थियो ।

 

गएराति भएको खेलमा अफ्रिकी देश मोरक्को नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई पराजित गरी मोरक्को समूह ‘एफ’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । मोरक्कोले क्यानडालाई २-१ गोलले हरायो । क्यानडाले आत्मघाती गोलको उपहार पाएको थियो ।

 

त्यस्तै अर्को खेलमा क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूहको उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । गोलरहित बराबरी खेलेपछि बेल्जियम बाहिरियो ।