दाेस्राे चरण प्रवेश गरेपछि खुसीयाली मनाउँदै काेरियन खेलाडी । तस्वीर: एपी

दोहा । ह्वाङ ही-चानले इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको गोलसँगै दक्षिण कोरियाले पोर्चुगललाई २-१ ले पराजित गरेपछि कोरियाली समर्थकले एजुकेसन सिटी रंगशालामा खुसीयाली मनाउन थाले । म्युजिक उस्तै चर्को स्वरमा घन्किन थाल्यो । कोरियन टिमका खेलाडीहरू भने मैदानको मध्यभागमा भेला भए ।

 

अँगालो हालेर अल जनोब रंगशालामा भइरहेको उरुग्वे–घानाको नतिजाको धैर्यपूर्वक प्रतीक्षा गरिरहे । झन्डै ५ मिनेटको धैर्यपछि उरुग्वेले २-० ले जित्यो, जसले कोरियालाई विश्वकप २०२२ को नकआउट चरणमा पुर्‍यायो ।

 

अल जनोबमा खेल सकिएसँगै एजुकेसन सिटीमा कोरियन खेलाडीहरू अँगालो हाल्दै, मैदानमा चिप्लिँदै, लडिबुडी गर्दै खुसी मनाउन थाले । केही भावुक भए । आफ्ना समर्थकसामु गएर रमाउन थाले । चर्चित कोरियन गीत ओप्प गङनङ… रंगशालामै घन्काउँदै डीजेले खेलाडी र टिमका समर्थकलाई नचाइदिए । १२ वर्षपछि नकआउट चरणमा पुगेको खुसीयालीमा कोरियन खेलाडी झन्डै दस मिनेट मैदान घुम्दै समर्थकअगाडि पुगेर रमाइरहे ।

 

सहआयोजक छँदा सन् २००२ मा स्पेन र इटालीलाई पनि पराजित गर्दै सनसनीपूर्ण रूपमा विश्वकपको सेमिफाइनल पुगेको दक्षिण कोरियाले दक्षिण अफ्रिका (२०१०) यता पहिलोपल्ट समूह चरण पार गरेको हो । ब्राजिल (२०१४) र रुस (२०१८) को संस्करणमा कोरिया समूह चरणबाटै बाहिरिएको थियो ।

 

उरुग्वेविरुद्ध गोलरहित खेलेपछि घानाविरुद्ध रोमाञ्चक खेल ३–२ ले हारेको कोरियाले यसअघि नै अन्तिम १६ को यात्रा पक्का गरिसकेको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलविरुद्ध समूहको अन्तिम खेल खेल्ने भएपछि कतारमा पनि उसको चुनौती चाँडै सकिने अनुमान गरिएको थियो ।

 

रिकार्डो होर्ताले विश्वकप डेब्युको पाँचौं मिनेटमै गोल गरेपछि पोर्चुगलले अग्रता लिएको थियो । किम योङ-ग्वोनले २७औं मिनेटमा कोरियालाई बराबरीमा फर्काए । ब्रुनो फर्नान्डेजसहित केही स्टार खेलाडीलाई आराम दिएको पोर्चुगलले थुप्रै अवसर उपयोग गर्न सकेन । कोरियाले भने संघर्ष जारी राख्यो । र, ह्वाङको निर्णायक गोलमा २-१ को जित निकाल्दै नकआउटमा स्थान सुरक्षित गर्‍यो । इकान्तिपुरबाट