झापा । झापाको अर्जुनधारामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृतक इन्जिनियर हुन् ।

 

अर्जुनधारा ४ स्थित भाङबारीमा भएको दुर्घटनामा परी फिदिम नगरपालिका १ बस्ने अन्दाजी ३० वर्षीय गंगाराम काफ्लेको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालय शनिश्चरेले जनाएको छ । मोटरसाइकल पछाडि बस्ने फिदिमकै ३५ वर्षीय मिलन बस्नेत घाइते छन् ।

 

काफ्लेले चलाएको बा.०२-०१८ प ८३८५ नम्बरको मोटरसाइकल राति ११ः३० बजे सडक नजिक रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ । उनीहरु लक्ष्मीपुरदेखि भाङबारीस्थित आफन्तको घरमा आउँदै थिए ।

 

मृतकको शवलाई राति नै बिर्तामोडस्थित एक अस्पतालको शव गृहमा राखिएको छ । पाँचथरबाट आफन्त आउने क्रममा रहेको र पोष्टमार्टमको तयारी भइरहेको बताइएको छ ।