लिलक सिटौला,
इलाम जिल्लाभरि निक्कै जाडो भइसकेको थियो । त्यो बेला २०३७ देखि २०४९ सम्म समयअनुसारको प्राकृतिक अवस्था धेरै राम्रो थियो । हाम्रो देशको समयमा जाडो हुन्थ्यो, समयमा पनि पर्दथ्यो । साथै समयमै सिजनका बाली धान, मकै, तोरी, सागसब्जीहरुको उत्पादन मिठो र पोसिलो थियो । जाडोमा विद्यार्थी जीवनमा हामीलाई एउटा घरबाट स्वीटर दिने व्यवस्था थियो । हामी केही साथीहरुलाई इलामको सिडिओले नोटिस काटेका थियो । हामी क्याम्पसदेखि बजारभित्र छिर्यो कि पक्राउ पुर्जी देखाएर समात्ने काम थियो ।

 

बारा बस्तीमा पनि प्रहरीको आँखा परेपछि म अलमलमा परेँ, म सिधै गोलाखर्क झरेँ । त्यहाँ मेरो मित्र थिए, खेम सिवाकोटी । मान्छे एकदम फरक किसिमको, (कवाई) टाइपको वहाँले मलाई मेरो कुरो बुझेर एउटा लामो कोटमाथि जिउदेखि खुट्टासम्म पुग्ने एउटा ठुलो कोट, त्यो कोट लगाएपछि कि त खेम नै भनेर चिन्दथे ।

 

अरुलाई चिन्न जरुरत नै थिएन । मैले त्यो कोट लगाएँ । अनि इलाम बजारमा मसँग नै पढ्ने साथीहरु प्रमिला, उर्मिला ताम्राकारको सहयोगमा इलाम बजारको मुटु बाँडा होटलमा बस्ने कोठाको व्यवस्था साथीहरुले गरेका थिए । दुवै साथीहरुलाई यो लेखबाट धन्यवाद दिन चाहन्छु ।

 

धेरै दिन बसिन, खाली बास बसेको थिएा । खाना चाहिँ रामप्रसाद गौतम, इलामको गौतम होटल, त्यो बेला प्रख्यात थियो । गौतमलाई (काला दाइ) भनेर चिन्दथे । इलामका पुराना समाजसेवी, गोरखको घर अगाडि रामप्रसादको पनि हामीप्रति झुकाव थियो । वास्तवमा वहाँ कांग्रेसप्रति समर्पित हुनुहुँदो रहेछ । बसाइ बाँडा होटल, खाना रामप्रसाद गौतमकोमा, ओभर कोट खेम सिवाकोटीको । वाह, कस्तो आनन्दको जीवन र त्यसको अनुभूति पुलिसहरुले पत्तो लगाउन सकेको भए पो ।

 

एवंरुपले २१ दिने पक्राउ पर्ने सूचना भइरहेको थियो । हामी साथीहरु १२ दिनभित्रै हिँडिसकेका थियौँ । अब मात्र ९ दिन बाँकी थियो । त्यसबेलाको अवस्थालाई हेर्दा हाम्रो जीवन भूमिगत भएको रहेछ । देखा परे पुलिसले पक्राउ गर्ने, भेष बद्लिएर हिँड्दा पुलिसहरुले थाहा नपाउने, गज्जबसँगै मज्जा थियो । त्यो बेला हामी राजकाज मुद्दामा परेका साथीहरु आआफ्नै ठाउँमा बसेका थियौँ ।

 

तर, बारुले संगठनका साथीहरुले प्रत्येक दिनको खबर हामीबीच पुर्याउने काम गरेका थिए । हामी ढुक्कका साथ इलामको कुना कुनामा जमाएर बसेका थियौँ । पुलिसका ठुल्ठुला हाकिम भए पनि हामीलाई बचाउने अर्थात् सबै खबरी गर्ने एक जना साथी पुलिस हाम्रो पक्षमा थियो । त्यो पुलिसको नाम याम हो, थर चाहिँ बिर्सिएँ । त्यो पुलिसको चाहिँ हामीमध्ये रमेश डिसीसँग हेलमेल भएको कारण नै प्रमुख आधार थियो ।

 

तर, जेहास्, हाम्रो साथी भयो, प्रजातन्त्र आएपछि याम कहिले हामीसँग आएन, प्रजातन्त्रवादी पुलिसभित्र पनि हुँदो रहेछ । त्यो बेला कठिन नै थियो । दायाँ बायाँ गर्नु गराउनु पाइँदैन थियो । तर पनि व्यवस्था विरोधीले दायाँ बायाँ गर्दथे । त्यो मानवीय जीवनको प्रमुख कल्पना नै थियो । जसले जे गरे पनि त्यसैको कुरा मान्ने मान्छे चाहिँ सही हो या गलत होस्, त्यसलाई प्रतिकार नगर्ने मान्छेको केही हुँदैन । उ दास कहलाउँछ । प्रतिकार गर्ने व्यक्तिहरु जस्तै अवस्थामा पनि रमाउनु जानेका हुन्छन् ।