दोहा । डेन्जेल डम्फ्रिसको उत्कृष्ट प्रदर्शनसँगै नेदरल्यान्ड्स ३-१ ले अमेरिकाको चुनौती समाप्त पार्दै शनिबार विश्वकप २०२२ को क्वाटरफाइनल पुग्ने पहिलो टिम भएको छ ।

 

इटालियन सिरी ए क्लब इन्टर मिलानका २६ वर्षीय खेलाडी डम्फ्रिसको डच टिमले गरेका तीनै गोलमा संलग्नता रह्यो । मेम्फिस डिपेले १० औं मिनेटमै गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । त्यसमा डम्फ्रिसले अन्तिम पास दिए । डिले ब्लिन्डले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता दोब्बर बनाउँदा पनि उक्त गोलको अवसर डम्फ्रिसले नै सिर्जना गरेका थिए । हाजी राइटले ७६ औं मिनेटमा गोल अन्तर छोट्याए पनि डम्फ्रिस आफैंले ८१ औं मिनेटमा टिमको तेस्रो गोल गर्दै खेलमा फर्किने अमेरिकाको आसमा तुषारापात गरिदिए ।

 

यसैबीच, कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रंगशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

 

अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो । खेलको ७७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन ।

 

प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अर्जेन्टिना दोस्रो टोली बनेको छ । क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।