अर्जुनधारा । झापा अर्जुनधाराकी एक समाजसेवी दाताले शनिश्चरे बजारदेखि अर्जुनधारा जलेश्वरधामसम्म जाने बाटोमा लाखौँ रुपैयाँको सडक बत्ती जडान गरिदिएकी छन् । दिवंगत श्रीमान तथा छोरासँगै आफन्तको स्मृतिमा अर्जुनधारा ४ की मिना राईले सडक बत्ती जडान गरिदिएकी हुन् ।

 

अर्जुनधारा ८ को शनिश्चरे बजारदेखि अर्जुनधारा ७ को पिपल चोकसम्म करिब ५ सय मिटर लामो सडकमा उनले आधुनिक सडक बत्ती निर्माण गरिदिएकी हुन् । समाजसेवी राईले पहिलोपटक शनिश्चरे बजारदेखि बाह्रदशी पुलसम्म १२ वटा सडक बत्ती जडान गरिदिएकी थिइन् ।

 

पछिल्लो पटक बाह्रदशी पुलदेखि पिपल चोकसम्म ९ वटा सडक बत्ती जडान गरी आज (सोमबार) उद्घाटन गरियो । शनिश्चरे माविमा अध्ययनरत २०४१ सालमा एसएलसी दिएका समूहको एक भेलामा दाता मिना राई र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

 

दुवै स्थानमा सडक बत्ती जडान गर्दा ५ लाखभन्दा बढी खर्च भएको उनको भनाइ छ । दिवंगत श्रीमान् अमरबहादुर राई र ४ वर्षीय छोरा सानु राईलगायत आफन्तको स्मृतिमा सडक बत्ती जडान गरिदिएको उनले बताइन् । सडक बत्तीमा वितरण गरिएको विद्युत् महसुल भने अर्जुनधारा ८ नम्बर वडा कार्यालयले व्यहोर्ने जनाइएको छ ।

 

वडा नम्बर ७ का अध्यक्ष गोविन्द खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख पराजुली, वडा नं. ४ का अध्यक्ष अमर कटुवाल, वडा नं. ८ का अध्यक्ष कुमार उप्रेती, सहपाठी चतुर्भुज काफ्लेलगायतले समाजसेवी राईले गरेको सामाजिक कामको प्रशंसा गर्दै धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन शनिश्चरे माविका पूर्व शिक्षक कृष्ण पौडेलले गरेका थिए ।

 

उनले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएकी छन् । अर्जुनधारामै अभिभावकविहीन एक बालिकाको शिक्षा दीक्षाको जिम्मेवारी लिएकी छन् भने विभिन्न मन्दिर तथा बाल क्लबहरुलाई आर्थिक सहयोगसँगै असहायलाई खाद्यान्न वितरण गर्दै आएकी छन् ।