खुदुनाबारी । सामाजिक कार्यमा सक्रिय रहेको युवाहरुको संस्था सहयात्रा ग्रुपको आयोजनामा झापाको अर्जुनधारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय परिसरमा आइतबार आयोजना गरिएको कार्यक्रममा ३३ जना दाताहरुले रगत दान गरेको सहयात्रा ग्रुपका संयोजक तिलक योञ्जनले जानकारी दिए । रक्तदान कार्यक्रममा झापा र इलामका दाताहरुको सहभागिता रहेको थियो ।

 

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा संचालन भएको कार्यक्रममा सहयात्रा ग्रुपका सदस्यहरुसंगै, स्थानीय नागरिक, सुरक्षाकर्मी र संचारकर्मीहरुले समेत रक्तदान गरेका थिए ।

 

अर्जुनधारा नगरपालिकाका पूर्व जनप्रतिनिधि होम दुलालले २४औं पटक रक्तदान गरेको बताए । सहयात्रा ग्रुपका संयोजक योञ्जनको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराईको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको थालनी भएको थियो ।

 

कार्यक्रममा अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका जनप्रतिनिधिहरु चन्द्रा तामाङ, नारायण चापागाई, नेपाल रेडक्रस सोसाईइटी खुदुनाबारी उपशाखाका सभापति भोला बराल, उपसभापति शान्तिराम घिमिरे, सचिव मुकुन्द भण्डारी, अस्थायी प्रहरी चौकी खुदुनाबारीका इन्चार्ज सुरेश नेपाल, सशस्त्र प्रहरी बल वेश क्याम्प खुदुनाबारीका इन्चार्ज नारायण गौतम, शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तुलसी खतिवडा, सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खुम्बा तामाङ, युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौला लगायतको आतिथ्यता रहेको थियो ।

 

सामाजिक कार्यमा सक्रिय रहेको सहयात्रा ग्रुप २०७५ सालमा स्थापना भएको हो । ग्रुपमा झापा र इलामका ३० जनाभन्दा बढी युवाहरुको आबद्धता रहेको छ । २०७९ सालको तिहारमा ग्रुपले संचालन गरेको मौलिक देउसीभैलो कार्यक्रमबाट संकलन भएको रकमबाट खर्च हुने गरि पहिलो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम गरिएको ग्रुपका सदस्य मदन भट्टराई (जितु)ले जानकारी दिए । ग्रुपले आगामी कार्यक्रमको रुपमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम गर्ने तयारी गरिरहेको बताइएको छ ।