शनिश्चरे । कालिकापीठ कालीस्थानको १८औं वार्षिक अनुष्ठान अन्तरगत श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको समुद्घाटन सम्पन्न भएको छ । नेपालका ऐतिहासिक प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले महायज्ञको उद्घाटन गरेका हुन् ।

 

जगतगुरु बालसन्त मोहनशरणले स्कन्ध महापुराणमा हिमवत्खण्डको विसद महिमा रहेको उल्लेख गर्दै शिवपुत्र स्वामी कार्तिकेय (कुमार)ले ब्याख्या एवं प्रचार–प्रसार गरेकाले पुराणको नाम स्कन्ध पुराण रहेको बताए । पुराणमा कर्णालीपश्चिम, कर्णाली पूर्वदेखि कौशिकीसम्म, मानसरोबर, एवं कोशीपूर्वदेखि कास्मिरसम्मका हिमवतखण्डको चर्चा रहेको बताए ।

 

स्कन्ध पुराणका ब्याख्याता, लेखक एवं प्रकाशकहरुले पनि उक्त पुराणमा नेपालका हिमवत खण्डको चर्चा बढी रहेको स्वीकार गरेको उनको भनाइ थियो । कार्यक्रमका विशिष्ट अतिथि एवं झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले धार्मिक क्षेत्रको योगदानको मूल्याङ्कन नगरिए पनि धार्मिक/सांस्कृतिक एवं संस्कृत शिक्षाबाट राष्ट्रका लागि थुप्रै उपलब्धी भएको धारणा राखे ।

 

नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले कानूनले मानिसलाई अनुशासनमा बाँध्न नसक्ने तर धर्म/संस्कार र संस्कृतिले मानिस अनुशासित र सभ्य हुने एवं हिंसामुक्त समाज स्थापित हुने धारणा राखे ।

 

अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देनले धर्म-संस्कार र संस्कृतिले मानिसलाई अनुशासित बनाउने र अनुशासनले नै सफलतातर्फ डोर्याउने बताए । धर्मप्रति आस्था र विश्वास गर्ने ब्यक्तिले नकारात्मक कार्य नगर्ने उनको धारणा थियो ।

 

कार्यक्रममा अध्यक्षको मन्तब्य राख्दै पीठका अध्यक्ष ज्योतिषाचार्य पं. लक्ष्मीप्रसाद पोखरेलले पीठको विकास र समृद्धिका लागि पहिलो योगदान दलमानसिंह तामाङ (चैनपुरे बा)ले जग्गादानबाट गर्नुभएको उल्लेख गर्दै दानदाता, मुष्ठिदानदाता, अन्नदाता, अक्षयकोषदाताहरुको योगदानबाट पीठको विकास सम्भव भएको बताए । अक्षयकोष बृद्धिको लक्ष्य राखेर एकादशदिवसीय विराट महायज्ञको आयोजना गरिएको उनको भनाइ थियो ।

 

कार्यक्रममा पीठमा अध्ययनरत नैष्ठिक ब्राम्हणहरुलाई २०७० सालदेखि निरन्तर अन्नदान गर्नुहुने दाता एवं प्रतिष्ठित उद्योगी के एल दुगढ ग्रुपका विकासकुमार दुगढलाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी अक्षयकोषका दाताद्वय पं. तुलसीराम दाहाल, पं. खडानन्द–डम्बरकुमारी खतिवडालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । दाहाल र खतिवडाले अक्षयकोषका लागि ५१–५१ हजार रुपैया सहयोग गरेका छन् ।

 

स्कन्द पुराणका ब्याख्याता एवं विद्वतवर पं चैतन्यकृष्णको ब्यासत्वमा स्कन्ध महापुराण एवं वैदिक धर्मग्रन्थका ब्याख्याता आचार्य रघुनाथ रिजालको यज्ञाचार्यत्वमा महारुद्री महायज्ञ हुनेछ भने उपब्यासत्वमा पं. तोयानाथ खनाल, पं. टामन पौडेल, पं कमल अधिकारी, पं सन्तोष गौतम रहेका छन् ।

 

पीठका उपाध्यक्ष डिल्लीराम दाहालले स्वागत मन्तब्य एवं सचिव भोलानाथ पोखरेल र उमाकान्त खनालले सञ्चालन गरेको कार्यक्रम मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ उद्घाटनअघि नौमती बाजासहितको धार्मिक झाँकीले सेतीपानी-जलकन्या-भुवनेश्वर-अर्जुनधारा जलेश्वरधाम-खतिवडाचोक हुँदै पीठमा पुगेर सभामा परिणत भएको थियो ।