इलाम । माई नगरपालिकाको सडकमा घुमफिर गरिहिँड्ने एक महिलालाई मंगलबार उद्धार गरिएको छ । उनलाई ‘माया घर नेपाल’ इटहरीमा पठाइएको हो।
विगत केही दिनदेखि सडकको पेटीमा यत्रतत्र बर्बराउँदै घुमिहिँड्ने पहिचान खुल्न नसकिएकी करिब ५५-६० वर्षीया महिलाको उद्दार गरी संरक्षण केन्द्र पठाइएको हो। स्थानीय समाजसेवीहरु अभिषेक एक्तेन, पुष्प गिरी र एन्जेस एक्तेनको समन्वय तथा सहकार्यमा महिलालाई जोखिममा परेको महिलाहरुको संरक्षण गर्ने संस्था माया घर नेपाल इटहरी पठाइएको हो।
माया घरका प्रतिनिधि कौशल भण्डारी नेतृत्वको टोलीले सडक महिलालाई महिला संरक्षण केन्द्र इटहरी पुर्याएर परिवारसंग मिलन गराउने बताइएको छ । सडक महिलाको उद्धारमा लोदिया प्रहरी चौकी दानाबारीका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाका सभापति मित्रप्रसाद गौतम, पत्रकार विमल दाहाललगायतको सहयोग रहेको थियो।