अर्जुनधारा । यसवर्षको चासोक तङनाम (उधौली पर्व) झापाको अर्जुनधारामा धुमधामका साथ मनाइएको छ । अर्जुनधारा नगरपालिकाको केही वडाले मात्र १ नम्बर वडाको टाङटिङ खोला किनारमा मनाउँदै आएको उधौली पर्व यसपटक सिंगो नगरकै सहभागितामा मनाइयो ।
प्रकृतिपूजक किरात समुदाय अन्तर्गत राई जातिको उधौली पर्व, लिम्बू जातिको चासोक तङनाम, याक्खा जातिको चासुवा र सुनुवार जातिको फोल स्यादरलाई साझा चाडपर्वको रुपमा प्रवद्र्धन एवम् संरक्षण गर्ने उद्देश्यले चासोक तङनाम (उधौली पर्व) व्यवस्थापन समिति अर्जुनधाराद्वारा झापाको अर्जुनधारा १ स्थित मदनपुर खेल मैदानको प्राङ्गणमा बिहीबार आयोजित शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम गरियो ।
स्वागत नृत्यको रुपमा मञ्चमा मौलिक नृत्यहरु राई जातिको साकेला सिली, लिम्बू जातिको च्याब्रुङ नृत्य, मेचे जातिको क्रिस्टीकल्चर मोसाग्री, राजवंशी जातिको हामर गान हामर बाजन प्रस्तुत गरिएको थियो ।

त्यस्तै राष्ट्रिय कलाकार गंगा फियाकको ख्याली, हाक्पारे र धान नाच, कलाकार विकास लिम्बू र जमुना राईको सांगीतिक प्रस्तुतिले उपस्थित सबै सहभागीलाई नाच्न उत्साहित बनाएको थियो । त्यसैगरी किरात समुदायको मौलिक परिकार, पाहुनाका लागि बनाइएको बाँस, पराल र सेउलीको प्रयोग गरी बनाइएको डेरा, अनुमानित २० फिटको सिलाम साक्मा स्तम्भलगायत कार्यक्रमको थप आकर्षण रहेको थियो ।
समितिका अध्यक्ष राजेश जवेगु लिम्बूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले सिलाम साक्मा स्तम्भको उद्घाटन गरे थिए ।
सोही कार्यक्रममा किरात साहित्यको क्षेत्रमा विशेष योगदान पु¥याउने नरबहादुर योङहाङलाई मरणोपरान्त, २०५३ सालमा देशमा शान्तिको कामना गर्दै १६.६ दिन लगाई मेची–महाकाली दौड पुरा गर्ने धावक अर्जुनधारा–१ निवासी मोहन सुब्बा र बंगलादेशमा हालै सम्पन्न भएको यु–१५ महिला फुटबल च्याम्पियनसीपकी विजेता राष्ट्रिय खेलाडी अर्जुनधारा–३ निवासी रेनु जवेगु लिम्बूलाई सम्मान गरिएको थियो ।
त्यस्तै सिलाम साक्मा स्तम्भ निर्माण गर्ने दाता हाल हङकङ निवासी दिवस राई, वरिष्ठ न्यूरो सर्जन डा सीपी लिम्बू र वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा कुमुद लिम्बूलाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी अर्का सहभागी किरात याक्थुम चुम्लुङ युकेका निवर्तमान अध्यक्ष सुवासचन्द्र जवेगु लिम्बूले संस्कार र संस्कृतिको संरक्षणसँगै चाडपर्वहरुलाई साझा बनाउने समितिको अभियानलाई उदाहरणीय भएको प्रतिक्रिया दिए ।
कार्यक्रममा किरात राई यायोक्खा अर्जुनधारा, अर्जुनधारा–१स्थित किरात माङगेना सेवा समिति, अर्जुनधारा–१०स्थित भद्रकाली किरात याक्थुम केलाङ समाज, अर्जुनधारा ५ स्थित राजवंशी समाज विकास समिति, मेचीनगर–८स्थित ग्रामथान मेचे टोल, कलाकारहरु लज्जन फ्याक, ज्योति लामिछाने, विपना राई, लक्ष्मी कन्दङवालगायतले प्रस्तुति दिएका थिए ।

सोही कार्यक्रममा मौलिक खेल पक्लुङ लेप्मा (छेलो हान्ने) र सिकी उङमा (डोरी तान्ने) खेल सञ्चालन गरिएको थियो । छेलो हान्ने पुरुषतर्फ तिलक एक्तेन “सागर” र विजय सेन्दाङ तथा महिलातर्फ अस्मिता शिवा र माया चोङवाङ प्रथम र द्धितीय भए । त्यसैगरी डोरी तान्नेतर्फ टाङटिङ नदी वारि प्रथम र टाङटिङ नदी द्धितीय भएको खेलकुद उपसमितिका संयोजक महेन्द्र आङदेम्बेले जानकारी दिए ।
समितिकी सदस्य मीना पन्धाकले स्वागत गरेको उक्त कार्यक्रमको औपचारिकतर्फ सचिव खगेन्द्र लिङदेन र सांस्कृतिक कार्यक्रम सञ्चारकर्मी अमित खम्बू र प्रस्तोता सोफिया लिम्बूले सञ्चालन गरेका थिए ।
दुई दिवसीय कार्यक्रमको पहिलो दिन मंसिर २१ गते स्थानीय टाङटिङ नदी किनारमा नौ जना सेवासाँवा (पुजारी)बाट पूजाअर्चनासहित गालीश्राप तथा साकमुरा बहन्ती सेवा गरिएको थियो ।