झापा । झापाको बुद्धशान्ति गाउँपालिका १ बुधबारेस्थित पुल चौकमा भएको आगलागीबाट करिब ४ करोडबराबरको क्षति भएको छ ।
सोही ठाउँ बस्ने नारायण कडरियाको हार्डवेयर पसलमा आगलागी हुँदा त्यति धेरै क्षति भएको हो । बिहीबार साँझ ७ः२५ बजे कडरियाको हार्डवेयर पसलमा अचानक आगलागी भएको भन्ने खबर ईलाका प्रहरी कार्यालय बुधबारेमा प्राप्त हुनासाथ ईप्रका बुधबारे, ईप्रका धुलाबारीबाट प्रहरी टोली खटिएको थियो ।
उक्त आगो प्रहरी, मेचीनगर, बिर्तामोड र भद्रपुर नगरपालिका समेतको दमकल र स्थानीयबासीहरुको सहयोगमा राति ९ः३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त पाठकले बताए ।
पीडितले दिएको निवेदनअनुसार आगलागीबाट घर आंशिक क्षति भई हार्डवेयर पसलभित्र रहेका विभिन्न किसिमका सामानहरु पूर्णरुपमा जलेर नष्ट हुँदा तीन करोड उनान्सय लाख साठी हजारबराबरको क्षति भएको डिएसपी पाठकले जानकारी दिए ।