झापा । ‘मिस तामाङ वर्ल्ड २०२२’ का लागि तयारी तिब्र पारिएको छ । मिस तामाङ फाउण्डेशनले आयोजना गर्दै आएको ‘मिस तामाङ वर्ल्ड’ को २०२२ संस्करणको तयारी तिब्र परिएको हो । फाउण्डेशनले झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी ‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारीका बारेमा जानकारी गराएको हो ।

 

फाउण्डेशनले ‘मिस तामाङ वर्ल्ड २०२२’ को ग्रान्ड फिनाले भारतको सिलिगुढीमा आगामी फेब्रअरी ११ तारिख गर्ने जनाएको छ । विश्वका कुनै पनि देशका तामाङ युवतीले सहभागिता जनाउन सक्ने मिस तामाङ वर्ल्डमा नेपाल, भारत, अस्ट्रेलिया, अमेरिका र जापनमा बसोबास गरिरहेका तामाङ युवतीले समेत सहभागिता जनाउने गरिको तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ ।

 

मिस तामाङ वर्ल्डका लागि १६ वर्ष पूरा भएका, अविवाहित र कक्षा १२ पास गरेका युवती हुनुपर्नेछ । प्रतियोगितामा सहभागिताका लागि हाल फारम खुल्ला रहेको छ । आगामी पुष १५ सम्म अनलाइनमार्फत फारम भर्न सकिने आयोजकले बताएको छ ।

 

भारतको सिक्किम, सिलिगुडी र नेपालको काठमाडौंमा प्रत्यक्ष अडिशन हुने र अन्य स्थानमा भर्चुअल माध्यमबाट अडिशन गरिने फाउण्डेशन अध्यक्ष मिलन मोक्तानले जानकारी दिए । अडिशनबाट छनौट भएका प्रतियोगीहरुलाई नेपालमा विभिन्न स्थानमा २० दिन र भारतमा १० दिन प्रशिक्षण दिइनेछ ।

 

‘मिस तामाङ वर्ल्ड २०२२’की विजेताले नगद १० लाख रुपैयाँसहित ताज र विभिन्न पुरस्कार पाउने जनाइएको छ । अलग–अलग ७ वटा विधामा छनौट हुने प्रतियोगिहरुलाई पनि पुरस्कार प्रदान गरिनेछ । यस पटक प्रतियोगितामा सहभागी जनाउन कुनै पनि किसिमको शुल्क नलाग्ने बताइएको छ ।

 

पत्रकार सम्मेलनमा प्रदेश नं. १ का सांसद गोपाल तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष सुवास स्याङ्वो तामाङ, ‘मिस तामाङ वर्ल्ड २०२१’ (पहिलो सिजन)की विजेता साङ डोमा तामाङ लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

 

यसअघि भारतमा समेत पत्रकार सम्मेलनको आयोजना गरि फाउण्डेशनले प्रतियोगिताको जानकारी गराएको थियो । ‘मिस तामाङ वर्ल्ड २०२२’को अनलाइन फारम भर्न र थप जानकारी www.misstamangworld.com मा गएर हेर्न सकिन्छ ।