झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारे बजारबाट प्रहरीले ३ जना बेवारिसे बालकहरुको उद्दार गरिएको छ । आइतबार दिउँसो बुधबारे बजारमा ३ जना बालकहरु बेवारिसे अवस्थामा रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उद्दार गरेको हो ।
अभिभावकविहीन अवस्थाका इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ वर्षीय एन्जल लिम्बू, ११ वर्षीय सुशील लिम्बू र १० वर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उनीहरुलाई उद्दार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुई जनाको आमा अर्केसँग बिहे गरेर गएको, एक जनाको आमाको मृत्यु भएको, बुवाले अर्कै बिहे गरेर गएको, कसैको बुवा कारागार चलान भएकाले अभिभावकविहीन बनेको स्थानीय बताउँछन् । लामै समयदेखि अभिभावकविहीन अवस्थामा रहँदै गाउँघरमै डुल्दै बस्दै आएका उनीहरूकाे प्रहरीकाे प्रयासमा उद्दार गरिएकाे हाे ।
उद्दार गरिएका तीनैजना बालकहरुलाई जनप्रतिनिधि र स्थानीय पत्रकारहरुको सहयोगमा ईटहरीमा रहेको अस्थायी संरक्षण केन्द्र (भीओसी) मा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।