सुरुङ्गा । झापाको कनकाई नगरपालिका १ मा मंगलबार दिउँसै घर फोरेर सुन र नगद चोरी भएको छ । घरमा सिसी क्यामेरा जडान गरिए पनि चोरले बेवास्ता गर्दै चोरी गरिएको देखिएको छ ।

 

कनकाई नगरपालिका १ स्थित जामुनबारीमा मंगलबार दिउँसो साढे १ बजेको समयमा चोरी भएको हो । घरको पछाडिको ढोका फोरेर स्थानीय भरतराज अधिकारीको घरबाट ७ तोला सुन, नगद १० हजार र केही कागजात समेत चोरी भएको प्रहरीले जनाएको छ ।

 

घरमा ताला लगाएर परिवारका सदस्यहरु बिर्तामोड गएको बेला घरको पछाडिको ढोकाको ताला फोरेर नगद र सुन चोरी भएको छोरी सदिक्षा अधिकारीले बताइन् । सिसी टिभीको फुटेजलाई समेत आधार मानेर हाल चोरी कार्यमा संग्लनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

 

घरमा दिउँसै चाेर पसेर नगदसहित गहना चाेरी भएकाे घटनापछि स्थानीय त्रसित भएका छन् । समयमै चारी घटनामा संलग्न व्यक्ति पक्राउ गर्न नसके स्थानीयबासीमा थप त्रास उत्पन्न हुने बताइन्छ । यस घटनालाई जनप्रतिनिधिले गम्भीररूपमा लिएकाे बताउँदै प्रहरी, प्रशासनलाई प्रभावकारीरूपमा अनुसन्धान गर्न अनुराेध गरेका छन् ।