झापा । झापाको कमल गाउँपालिकामा बुधबार साँझ दुईवटा स्कुटी र एउटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
साँझ ६ः५० बजे कमल गाउँपालिका ५ लवडाँडास्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १-०१-०१६ प २०९४ नम्बरको स्कुटी विपरीत दिशाबाट आउँदै गरेको मे. २ प २१५७ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ नै आउँदै गरेको प्र १-०१-०१५ प ७४८७ नम्बरको अर्को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मे. २ प २१५७ नम्बरको मोटरसाइकलका चालक मोरङ मिक्लाजुङ गाउँपालिका ७ बस्ने ३८ वर्षीय नरेन्द्र सेलिङलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक पठाईएकोमा बाटोमा नै उनको मृत्यु भएको हो । मृतकको शव दमक अस्पताल दमक पठाइएको छ ।
सोही मोटरसाइकलमा पछाडि सवार झापा शिवसताक्षी ९ बस्ने २४ वर्षीय मनोज लिम्बू घाइते भई उनको लाईफलाईन अस्पताल दमकमा उपचार भइरहेको छ । प्र १-०१-०१६ प २०९४ नम्बरको स्कुटी चालक ईलाम चुलाचुली १ बस्ने ३५ वर्षीय सन्तोष लिम्बू, प्र १-०१-०१५ प ७४८७ नम्बरको स्कुटी चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका २ बस्ने २४ वर्षीय तेजराज कटुवाल र तीनै वटा सवारीसाधन ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए ।