पाँचथर । लोहकिलडाँडाको चिसो बतासले भेट्ने फिदिम नगरपालिका ८ घुमाउनेटारका स्थानीयबासी चिसोका कारण चाँडै खाना खाइ ओच्छ्यानमा पुगेका थिए । राति १० नबज्दै शीतले निथ्रुक्कै भिज्ने गाउँबस्तीमा थोरै मानिसमात्रै अलि लामो समय जागै रहन्थे । तर, मध्यरात स्थानीय स्वास्थ्य चौकी नजिकैबाट मानिसको चिच्याहट र आगोको मुस्लो निस्किएपछि यहाँका स्थानीयबासीको होस् उड्यो ।
कठ्याङ्ग्रिने चिसो भए पनि बुधबार मध्यरात १ः३० बजे गाउँलेहरु अत्तालिँदै स्वास्थ्य चौकी नजिकै रहेको मेघबहादुर गुरुङको घरमा पुगे । गाउँले भेला हुँदा मेघबहादुरको तीन तले घरको दोस्रो तला जलिरहेको थियो । “चिच्याहटपछि भूकम्प होला भनेर उठेको त आगोले घर नै जलिसकेको रहेछ”, स्थानीय जलकुमार तामाङले भने, “आगोको ज्वाला र धुँवाको मुस्लोले घरको वरिपरी पुग्न सक्ने स्थिति थिएन ।”
गाउँलेहरु कसैले प्रहरीलाई खबर गरे कसैले दमकललाई, कसैले गाग्री तथा ड्रममा जम्मा गरिएको पानी आगोमा खन्याउने प्रयास गरे भने कसैले खानेपानीको पाइप आगोमा लगाइदिए । तर, काठ र टिनले बनाइएको सो घरको दोस्रो तलमा लागेको आगो सानो प्रयासले निभ्ने अवस्था थिएन ।
गाउँले मेघबहादुरको घर पुग्दा घरको बरण्डाको तल्लोपट्टिको कोठाबाट ‘बचाओ–बचाओ‘’ भन्ने चिच्याहट आइरहेकै थियो । तर, माथिल्लो पट्टिबाट सुरु भएको आगो सो कोठाको ढोकासम्म दन्किइसकेको थियो । झ्यालमा रड हालिएकाले भाग्नसक्ने अवस्था पनि थिएन ।
सोही अप्ठ्यारोमा परेर गएराति मेघबहादुरको घरमा भएको आगलागीमा परी मेघबहादुरकी कान्छी छोरी २२ वर्षीया ममता गुरुङ र २३ वर्षीया कान्छी बुहारी आशाङसिंह थेबे (गुरुङ)को ज्यान गयो ।
मृतकहरु चिच्याइरहेका बेला पुगेका छिमेकी जलकुमारका अनुसार आगोले घेरिएका नन्द-भाउजूलाई बचाउन सक्ने कुनै उपाय थिएन । घरको भूइँतलामा मेघबहादुर, उनकी श्रीमती, जेठा छोरा बिजेन्द्र, बिजेन्द्रकी चार वर्षीया छोरी र मृतक आशाङसिंहका भाइ सुतेका थिए भने दोस्रो तलाको बरण्डाको एउटै कोठामा नन्द-भाउजू ।
स्काभेटरका चालक मेघबहादुरका कान्छा छोरा आशाङसिंह श्रीमान् दुई दिनअघि मात्रै काम गर्न ताप्लेजुङ गएका थिए भने आशाङसिंहका भाइ दिदीको घर आएका थिए ।
दोस्रो तलाको भित्तापट्टिबाट आगलागी सुरु भई अन्यत्र फैलिएपछि मात्रै भूइँतलाका पाँच जनाले पत्ता पाएका थिए । छिमेकीका अनुसार ठूलो आवाज आएपछि गाईवस्तु फुस्केको अनुमानले मेघबहादुर उठ्दा हुरहुरी आगो बलिरहेको थियो र माथिल्लो तलामा जान सम्भव थिएन । भूइँतलाका सबैजना हत्तपत्त बाहिर निस्किए र बाहिरबाट जोडले कराए पनि नन्द-भाउजू ब्यूँझेनन् ।
ज्यानै जोखिममा हालेर मेघबहादुर र बिजेन्द्र तलामाथि चढ्न लाग्दा नन्द–भाउजू पनि चिच्याउन थाले । प्रत्यक्षदर्शीका अनुसार ममताले ढोका खोल्दा बाहिर दन्किइरहेको आगोको लक्काले छोपिहाल्यो भने नन्दलाई बचाउँन लाग्दा भाउजू पनि आगोमा परिहालिन् । उनीहरुलाई बचाउन तलामाथि चढ्ने प्रयास गरेका बाबु–छोरालाईसमेत आगोको लप्काले भेटेको छ । उनीहरु सामान्य घाइते भएका छन् ।
झण्डै २० किलोमिटर कच्ची सडक पार गर्नुपर्ने भएकाले यहाँ समयमा दमकल पुग्नसक्ने स्थिति समेत थिएन । फिदिममा रहेका दुई वटा दमकल पुग्दा घरको माथिल्लो तला जलिसकेको स्थानीयबासीको भनाइ छ ।
विद्युतु चुहावट भई आगलागी सुरुआत भएको अनुमान गरिएको अर्का स्थानीय मनबहादुर तामाङको भनाइ छ । यहाँका ग्रामीण क्षेत्रमा हुने अधिकांश आगलागी विद्युतका कारण हुन थालेका छन् । घटनापछि घुमाउनेटार शोकमा डुबेको छ ।