झापा । देशको पहिलो ट्रान्जिट पोइन्ट बनेको झापामा लागूऔषध नियन्त्रणका लागि प्रहरी सक्रिय भएर लागेको छ । जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रुपमा आएपछि प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागूऔषधको विकराल समस्यालाई पहिलो प्राथमिकतामा राखेका छन् ।

 

झापा लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट किन र कसरी बन्यो भन्ने कारण पहिल्याउँदै त्यसको नियन्त्रणमा लागिपरेको प्रहरी उपरीक्षक रेग्मीले बताए । सामान्य क्राइमले व्यक्ति र घरपरिवारलाई असर गरेपनि लागूऔषधको समस्याले सिंगो समाजलाई सिध्याउन लागेकोले त्यसकारण निर्मम भएर लागेको उनले बताए । शुरुवाती समयमा प्रहरी उपरीक्षक रेग्मी नेतृत्वको टीम सक्रिय भएर लागेको देखिन्छ । रेग्मी आएको एक साताभित्र प्रहरीले करिव एक दर्जनलाई लागूऔषधसहित पक्राउ गरिसकेको छ ।

 

यसक्रममा पछिल्लो पटक बिहीबार साँझ प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । बिहीबार साँझमात्र दमक क्षेत्रबाटै २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्ये एक जना युवती रहेकी छन् ।

 

फेरि बिहीबार साँझ ६ बजे दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरेमा सोही ठाउँ बस्ने ३६ वर्षीय सन्तोष राजवंशीको घरभित्र उनीसहित सोही ठाउँका ३६ वर्षीय कोलिलाकुमार बुढाथोकी, २८ वर्षीय केशव धिमाल र वडा नम्बर १ बस्ने ३१ वर्षीय सन्दिप लिम्बूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगर फेला परेको थियो । ब्राउन सुगरसहित उनीहरुले प्रयोग गरेको को. १४ प ७७८४, मे. ८ प ३०६६ नम्वरको मोटरसाइकल र विभिन्न कम्पनीको मोवाइल ५ थानसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।