झापा । मेचीनगर ६ स्थित निन्दा पुलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । हिजो साँझ ७ः३० बजे निन्दा पुलमा दुर्घटना भएको थियो ।

 

पुलको बीच भागमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प ७०९२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको मे ५ प १९४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट मे ५ प १९४३ नम्बरको मोटरसाइकलका चालक मेचीनगर १ का ३३ वर्षीय सुसाहाङ नेम्बाङको मृत्यु भएको हो ।

 

टाउकोमा चोट लागेर गम्भीर घाइते भई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएकोमा राति ८ः२० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

त्यस्तै मे २ प ७०९२ नम्बरको मोटरसाइकलका चालक मेचीनगर १० का ५३ वर्षीय सूर्यनारायण चौधरी घाइते भई एन्जल मेडिकल धुलाबारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए ।