झापा । निन्दा खोलामा अवैध रुपमा ढुङ्गा उत्खनन् गर्ने दुई ट्रयाक्टरसहित चालक पक्राउ परेका छन् । हिजो मंगलबार साँझ ५ः५५ बजे प्रहरी चौकी तिरिङ खोलाबाट खटिएको प्रहरी टोलीले चालकसहित ट्याक्टर पक्राउ गरेको हो ।

 

प्रहरीले झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित निन्दा खोलाको सिरान (चुरे क्षेत्र) मा अवैधरुपमा ढुङ्गा उत्खनन् गरिरहेको फेला पारी ज २ त ९५३ नम्बरको ट्रयाक्टर र चालक सोही ठाउँ बस्ने २५ वर्षीय सुवास लिम्बूलाई नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक कार्बाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाइएको छ ।

 

साथै, आज बुधबार बिहान ११ः३० बजे प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्बर ३ मा अवैधरुपमा ढुङ्गा ओसार–पसार गरिरहेको फेला पारी प्र. १-०१-००१ त ९२१९ नम्बरको ट्रयाक्टर र चालक सोही ठाउँ बस्ने २२ वर्षीय मौसम भुजेललाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।