बिर्तामोड । कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका बिर्तामोड नगरपालिका १ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याएर आजै अन्त्येष्टि गरिएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो ।
शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको शव आज दिउँसो १२ः३० बजेतिर बिर्तामोडस्थित निवासमा पुर्याइएको थियो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो ।
उनको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौं शुभचिन्तकको भीड लागेको थियो । मृतक पाण्डे बिर्तामोड १ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा थिए । पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको हो ।
बिर्तामोडस्थित निवासबाट पाण्डेको शवयात्रा गरिएको थियो । शवयात्रामा सहभागी हुन ठुलो संख्यामा मानिसहरु भेला भएका थिए । आजै कनकाई माईमा पाण्डेको अन्त्येष्टि गरिएको छ । हजारौँ शुभचिन्तकको भिड आज बिहानदेखि नै पाण्डेको घरमा थियो ।
घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए ।