झापा । झापाको मेचीनगर नगरपालिका ८ बाट लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ८ का ३६ वर्षीय आसिर खाँ रहेका छन् ।

 

घरमा नै लागूऔषध भण्डारण गरि लागूऔषधको बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खाँलाई ३० ग्राम लागूऔषध ब्राउनसुगरसहित सोमबार साँझ घरबाट नै पक्राउ गरेको हो ।

 

खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोबाइलसमेत बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका खाँको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।