पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ गैरीगाउँमा भीरबाट लड्दा एक वृद्धको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका ८ खैरेनी बस्ने ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।
माघ २९ गते ३५ वर्षीय श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीका साथ मोरङदेखि पाँचथरको मिक्लाजुङ ६ मेवाखोलामा रहेको ससुराली घर आउने क्रममा भीरबाट लडेका हस्तबहादुरको मंगलबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) सन्तोष राईले जानकारी दिए ।
हस्तबहादुर २९ गते नै भीरबाट लडे पनि श्रीमती सरिताले २ दिन ढिलो गरी प्रहरीमा निवेदन दिएको उनको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी खान्द्रोङबाट खटिएको प्रहरी र स्थानीयले खोजी गर्दा हस्तबहादुरको शव भेटिएको हो ।
उनको शव मिक्लाजुङ ६ खोलागाँउ नजिकै रहेको जंगल हुँदै अगाडि बढ्ने गोरेटो बाटोमा पर्ने भीरदेखि ५ सय मिटर तल भेटिएको थियो । घटनास्थलको प्रकृति मुचुल्कापछि शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाउनुका साथै घटनाको छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।