झापा । मेची कृषि सहकारी संस्था मेचीनगर इँटाभट्टाका बजार प्रतिनिधि भेषराज खनाल हराएको सात दिनपछि हल्दिबारीको जंगलमा मृत फेला परेका छन् ।
मेचीनगर नगरपालिका वडा नम्बर १० बस्ने नरहरि खनालका छोरा ४८ वर्षीय भेषराज खनाल गत माघ २५ गते अन्दाजी बिहान १० बजे घरबाट सहकारीको पैसा कलेक्सनको लागि निस्किएका थिए । तर, खनाल रातिसम्म सम्पर्कमा नआएपछि उनका भाइ तोयानाथ खनालले भोलिपल्ट बिहान ९ः४० बजे ईलाका प्रहरी कार्यालय धुलाबारीमा हुलियासहितको निवेदन दिएका थिए ।
उनको खोजीमा प्रहरी निरीक्षकको कमाण्डमा १५ जना प्रहरी खटाइएको थियो । त्यस्तै प्रहरी कार्यालयहरुलाई हुलिया परिपत्र गरी खोजतलास गर्न आदेश दिइएको थियो ।
त्यसक्रममा बुधबार दिउँसो २ बजे हल्दिबारी गाउँपालिका वडा नम्बर ५ स्थित शान्ति सामुदायिक वनमा सखुवाको रुखमा झुन्डी मृत अवस्थामा उनी फेला परेका हुन् । स्थानीयले शव झुन्डिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए ।
कालो झोलासहित खनाल हराएको हुलिया परिवारले दिएका थिए । शवसंगै कालो झोला देखेपछि खनाल नै हुनसक्ने भनेर अनुमान गरेर स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले हराएकै दिन खनालले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको रिजालले बताए ।सहकारीमा काम गर्ने खनालले सहकारीको रकम चलाएको र सो रकम तिर्न नसक्ने सोचेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।