ताप्लेजुङ । पाथीभरा क्षेत्रमा बुधबार हिउँ परेको छ । बिहान घाम लागे पनि दिउँसोपछि आकाश धुम्मिएको र बेलुकादेखि हिउँ पर्न थालेको पाथीभराका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।
उनका अनुसार ३७ सय मिटर उचाइको पाथीभरा मन्दिर क्षेत्रदेखि ३१ सय मिटरको माथिल्लो फेदीसम्म हिउँ परेको छ । पानी भने सदरमुकाम फुङलिङसम्म नै परेको थियो ।
सिजनमा माथिल्लो हिमाली क्षेत्रमा हिउँ पर्दा तल्लो औल क्षेत्रमा पानी पर्ने गरेको छ । बुधबार बेलुकाको मौसम धुम्म भएकाले रातभरि पनि हिउँ परेको पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले बताए ।
अघिल्ला वर्ष हिउँ पर्ने सिजनमा तीर्थयात्रीले नै टाँगेका डोरी समाएर यात्रा गर्नुपर्ने सम्मको अवस्था सिर्जना हुन्थ्यो । त्यसका लागि पाथीभराका कर्मचारी, प्रहरी र स्वयंसेवकले डोरीको बीचबीचमा गाँठो बनाइदिएका थिए । कतिपय वर्ष त फरुवाले हिउँ पन्छाएर यात्रुहरुलाई गन्तव्यमा पुर्याएर फर्काएको माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईले बताए ।
किसानले भने अझै पर्याप्त हिउँ परेको हेर्न चाहेका छन् । ‘डाँडामा हिउँ थुप्रिँदा आउने चिसो हावाले पनि कृषि उपजमा राहत पुर्याउँथ्यो,’ अलैंची किसान भीम गुरुङले भने, ‘यो वर्ष जमिनमा हिउँ, पानी र डाँडामा हिउँ नहुँदा सबथोक बिग्रियो ।’
सिँचाइ अभावले ओसिलो बाहेकका क्षेत्रका अलैंची सुक्न थालेको छ । गहुँ, तोरी जस्ता अन्न बाली सुकेका छन् । खोलामा पानी नभएकाले सिँचाइ गर्ने उपाय नभएको गुरुङले दुखेसो पोखे ।
यो वर्ष ३१ सय मिटर उचाइका ओलाङचुङगोला, घुन्सा, फले लगायतका क्षेत्रमा पनि हिउँ परेको छैन । बुधबार बेलुकादेखिको मौसमले हिउँ पर्ने संकेत गरेको स्थानीयले बताएका छन् । यहाँका स्थानीय हिउँ छल्नका लागि प्रत्येक वर्ष औलतिर झर्ने गरेका थिए । बुढापाकाको अनुभवमा अहिले नपरेको क्षेत्रमा चैत-वैशाखमा पर्ने सम्भावना अधिक हुन्छ ।