झापा । ‘हामीलाई शान्तिसँग पढ्न देऊ, हाम्रा अभिभावकलाई बाँच्न देऊ’ भन्ने नारा लगाउँदै लघुवित्त, मिटरब्याजी र बैंकहरुले गरेको शोषणबिरुद्ध झापाको बिर्तामोडमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन ।

 

लघुवित्त, मिटरब्याजी र बैंकहरुको आतंकबिरुद्ध झापामा निरन्तर संघर्ष गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मेचीको आयोजनामा उक्त कार्यक्रम भएको हो । प्रदर्शनमा झापाका जिल्ला इन्चार्ज प्रशान्तलगायतका नेताहरु पनि सहभागी भएका थिए ।

 

बिर्तामोडको पुरानो इलाम स्टेण्डबाट सुरु भएको र्यालीले मुक्ति चोकसम्म नाराबाजी गरेको थियो । मुक्ति चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अखिल क्रान्तिकारीका महासचिव ललित सिंहले बोलेका थिए । उनले विद्यार्थीहरुले आफ्नो अभिभावकमाथि भएको ज्यादतीविरुद्ध संघर्ष सुरु गरेको र यो आन्दोलनले बैंक, मिटरब्याजी र लघुवित्तवाला ठगहरुलाई मुक्ति चोकमा ल्याएर घिसार्ने चेतावनी दिए ।

 

कोणसभामा बोल्दै नेकपा झापाका सेक्रेटरी संजय सिंहले ठगहरुको अत्याचार सहेर बस्न नसकिने भएकोले अब सबै विद्यार्थीहरुलाई संघर्षमा आउन अपिल गरे । उनले पार्टीको आधिकारिक नम्बर ९८६४६५८९६४ सबैलाई टिपाउँदै कुनै बैंक, वित्तीय संस्था र मिटरब्याजीले दुःख दिएमा पार्टीमा सम्पर्क गर्न आग्रह गरे ।

 

प्रदर्शनमा ‘मिटरब्याजी तस्करहरु होसियार, हाम्रा अभिभावकलाई बाँच्न देऊ, हामीलाई शान्तिसँग पढ्न देऊ । वित्तीय संस्था, मिटरब्याजी र बैंकहरु होसियार, ब्याजदर एक अंकमा झार, दलाल सरकार मुर्दावाद, विद्यार्थी एकता जिन्दावाद , अखिल क्रान्तिकारि जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।