तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हात्तिखर्कमा आगलागीबाट १४ घर जलेर नष्ट भएको छ । आगो नियन्त्रण बाहिर गएको छ । आगलागीमा धेरै क्षति भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि आगलागी भइरहेको छ ।
हालसम्म १४ वटा घर जलेर नष्ट भएको पालिका अध्यक्ष दिलकुमार पाहिमले न्यूज सञ्जाललाई जानकारी दिए । घटनास्थलमै रहेका अध्यक्ष पाहिमका अनुसार आगो निभाउने प्रयास भइरहे पनि जंगलभित्र आगो सल्किएकाले असफल भइरहेको छ ।
उनका अनुसार आगो बस्तीभित्र पसेर १४ वटा घर जलेको छ । आगो जंगलभित्रै रहेको छ । छिमेकी नगरपालिका फिदिमबाट दमकल आए पनि बाटो नभएकाले मुख्य सडकमै रोकिएको छ । बस्ती क्षेत्रभित्र पुनः आगो पसेको खण्डमा दमकलको प्रयोग गरिने अध्यक्ष पाहिमले जानकारी दिए ।
आगो निभाउन खटिएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई विष्णुप्रसाद पिठाकोटेका अनुसार आज अपराह्न गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट सल्किँदै आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा लागेको थियो । सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको प्रहरीले जनाएको छ ।
आगो निभाउने कार्यमा प्रहरी र स्थानीयबासिन्दा खटिएका छन् । सुख्खा मौसम भएकाले आगो निभाउन समस्या भएको वडाध्यक्ष कृष्ण बास्कोटाले बताए । पानीसमेत नभएकाले स्याउलाको मद्दतले आगो निभाउने कार्य भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
सबै जना आगो निभाउने कार्यमा खटिकाले आगलागी पीडितको विवरण लिन केही समय लाग्ने असई पिठाकोटेले बताए । आगलागीको कारण खुल्न सकेको छैन ।