शनिश्चरे । नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाको आयोजनामा भोलि (शनिबार) रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रगत आपूर्तिलाई सहज बनाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

 

अर्जुनधारा ७ स्थित मिलडाँडामा बिहान १० बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने सोसाइटीका सचिव कमल पोख्रेलले बताए । बिरामीका लागि रगत अभाव देखिन थालेपछि रक्तदान कार्यक्रम गर्नुपरेको सचिव पोख्रेलले बताए ।

 

सम्योग सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था शनिश्चरे सेवा केन्द्रको संयोजन तथा स्थानीय नव युवा क्लब अर्जुनधारा ४ र ७ को सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

 

अर्जुनधारा क्षेत्रका लागि मासिक अन्दाजी २ सय पिन्ट रगत आवश्यक पर्ने पोख्रेलले सुनाए । रगत अभाव हुन नदिनका लागि पनि निरन्तर रक्तदान गरिने भन्दै उनले वर्षमा मुस्किलले ४-५ पटकमात्र रक्तदान कार्यक्रम आयोजना हुँदै आएको पनि जानकारी दिए ।

 

‘रगत दिएर मरिँदैन, रगत नपाएर मरिन्छ’ भन्ने नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा दातालाई रक्तदान गर्नका लागि आयोजकले आग्रह गरेको छ ।