मोरङ । प्रदेशसभाबाट कोशी प्रदेश नामाकरण गरिएको विरोधमा आदिवासी जनजाति समुदायको प्रदर्शनमा झडप भएको छ । विराटनगरमा मंगलबार प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आन्दोलनमा झडप भएको हो ।

 

प्रदर्शनकारीले विराटनगरको रोडशेष चोकमा प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले बताए । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको उनले बताए ।

 

रोडशेष चोकमा रहेको बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै पहिचानवादीहरु त्यहाँ पुगेका थिए ।

 

पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा १२ जना घाइते भएका छन्। आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो । एसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार झडपमा तीनजना सशस्त्र प्रहरी तथा तीनजना नेपाल प्रहरीका जवान घाइते भएका छन् ।

 

यता आन्दोलनकारी तर्फ पनि ६ जना घाइते भएको बताइएको छ । झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यतर्फ फर्किएको छ ।

 

युएनडिपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेलमा राखिएको थियो । त्यहाँ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा सारिएकाे थियाे।