झापा। झापाको काँकरभिट्टाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी र नेपालगञ्जका युवा छन् ।
मंगलबार दिउँसो ४ः३० बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मे. १० प ३८०७ नम्बरको स्कुटी चालक झापा शिवसताक्षी नगरपालिका वडा नं. १ का २४ वर्षीय प्रजन्त राई र स्कुटी पछाडि सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ घर भई हाल बिर्तामोड नगरपालिका वडा नं. १ मा डेरा गरी बस्ने २१ वर्षीय सोहन भडेललाई शंका लागेर चेकजाँच गरिएको थियो ।
स्कुटीको भाइजरमा लुकाएर ल्याउँदै गरेको ४ ग्राम ब्राउनसुगर फेला परेकोले दुबै जनालाई स्कुटीसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
