पाँचथर । मेची राजमार्गको फिदिम इलाम सडकखण्डअन्तर्गत पाँचथरको फिदिम नगरपालिका ३ स्थित कान्छी दोकानमा भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् ।

 

ताप्लेजुङस्थित पाथिभरा देवीको दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री सवार प्रदेश १-०१-००१ च ९३४९ नम्बरको कार सडकदेखि करिब २ सय मिटर तल खस्दा झापाको बिर्तामोड १ निवासी १८ वर्षीय रश्मी भुजेलको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी रश्मीलाई प्रहरीले उद्धार गरेर उपचारार्थ पाँचथर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

कारमा सवार तीन जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिए । घाइते हुनेमा बिर्तामोड १ का राजु भुजेल, सीता भुजेल र लिला भुजेल घाइते रहेका छन् । उनीहरुलाई उद्धार गरी राति नै झापाको बिर्तामोडतर्फ पठाइएको प्रहरीले जनाएको छ ।