झापा । झापाको दुई अलग स्थानमा एक किशोरी र एक महिला बलात्कृत भएका छन् । जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरीले दुवै घटनामा संलग्न दुई जना युवकलाई पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार मेचीनगरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । महोत्तरी बर्दिबास नगरपालिका ५ का २९ वर्षीय कूलबहादुर विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका कूलबहादुरले ती किशोरीलाई झापा मेचीनगर नगरपालिका ६ काँकरभिट्टा बजारस्थित एक होटलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

 

यसैगरी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका ३ भोटेपुल बस्ने ६३ वर्षीय बलराम कामीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कामीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।