झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषध ब्राउन सुगरसहित दुई युवती पक्राउ परेका छन् । भित्री वस्त्रभित्र प्रतिबन्धित ब्राउनसुगर लुकाएर लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । शंका लागेर चेकजाँच गर्दा साेनीले लगाएकाे भित्री वस्त्र (पेन्टी) भित्र २ वटा प्याडकाे बीच भागमा प्याडजस्तै बनाएर ब्राउनसुगर लैजान लागेकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीहरूलाई विमानस्थल प्रहरीले शरीर चेकजाँचका क्रममा सोनीको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर फेला परेको डीएसपी रिजालले बताए । सोनीले गुप्ताङमा लगाएको प्याडमा ब्राउनसुगर लुकाएर काठमाडौं लैजान खोजेकी थिइन् ।
सोनीसँग ब्राउनसुगर फेला परेपछि सँगै काठमाडौं जान लागेकी उनकी दिदी सन्ध्यालाई पनि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।