पुरिएका व्यक्तिको खोजी कार्यमा जनप्रतिनिधि र स्थानीय बासिन्दा ।

इलाम । इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा घर निर्माण गर्ने क्रममा चारजना मजदुरको मृत्यु भएको छ । शुक्रबार साँझ स्थानीय विनोद श्रेष्ठको घर निर्माण गर्दै गर्दा माथिबाट झरेको सुक्खा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको हो । मृतक सबै भारतीय नागरिक हुन् ।

 

शुक्रबारबाट नै घर निर्माण शुरु गरिएको थियो । घरको गजको प्लम हाल्ने क्रममा एक्कासी माथिबाट पहिरो झरेर पुरिएका मजदुरको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको किसनगन्ज डिगल बैंकका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । घर निर्माणका ठेकेदार ममत अलामसहित चार जना भागेर बाँच्न सफल भएका छन् ।

 

घटना भएको केहीबेरमै प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धारको काम थाले पनि गहिरो माटोले पुरिएका कारण शव निकाल्न समय लागेको थियो । प्रहरी निरीक्षक राईले भने, ‘‘कहाँ पुरिएको भन्ने नै अनुमान गर्न सकिएन सबै ठाउँमा खोज्दा शव फेला पार्न सफल भयौँ ।’’ जेसीबीले खनेर शव निकालिएको थियो ।

 

सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले भर्खरै खनिएको घडेरीमा माथिको जमिन कच्ची भएका कारण पहिरो खसेको बताए । समथर भूभाग भएका कारण जोखिमजस्तो नदेखिए पनि माथिबाट सुक्खा पहिरो झर्दा मजदुरको ज्यान गएको उनको भनाइ छ ।

 

शवलाई फिक्कल अस्पतालमा राखिएको छ । शनिबार पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । ठेकेदार अलामले भारतबाट परिवारका सदस्य झिकाएर काममा लगाएको बताएका छन् । सबै मजदुर केही समय अघिदेखि सूर्योदय नगरपालिकाका विभिन्न स्थानमा घर निर्माणको काम गर्दै आएका थिए । याे समाचार गोरखापत्र अनलाइनका लागि पत्रकार प्रेम अधिकारीले लेखेका हुन् ।